पृष्ठभूमि

श्री गलकोट माध्यामिक विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा यस क्षेत्रमा संस्कृत शिक्षा कर्मकाण्डी विधि तथा नेपाली भाषा व्याकरण अध्ययन अध्यापनको लागि सर्वप्रथम तत्कालीन गाउँ पञ्चायतको  हटिया वाड नं. ४ रजरा स्थित पिपलको चौतारो तथा मुखियाको ठाँटीमा केही विद्याप्रेमीहरु पं. पद्मपानी शर्मा, पं. शिव प्रसाद ढकाल, पं. गणेशदत्त गौतम, राजा भरतबम मल्ल, मुखिया खड्ग सिंह खत्री मुखिया विष्णु प्रसाद पाण्डे,गणेश कुमार श्रेष्ठ, कुलदत्त उप्रेती आदिको अग्रसरतामा वि.स. २००३ सालमा “गौमुखी विद्याश्रम” खोलिएको थियो । त्यस बेला यहाँ सामान्य संस्कृत शिक्षा, कर्मकाण्डीय विधि, वेद, चण्डी, पुराण रुद्री आदीको अध्ययन अध्यापन हुन्थ्यो । वि.स. २००४ मा ‘जयतु संस्कृतम्’ अभियानका अग्रन्य व्यक्तिहरू श्री भद्र शर्मा, राजेश्वर देवकोटा, कमलराज रेग्मी, गोपाल वैद्यको सल्लाहअनुसार यसलाई आधिकारिकता प्रदान गर्न पाल्पाको निगनलपानिबाट नरिश्वर शर्मा उपाध्यायलाई नेपाली भाषा व्याकरण तथा प्रमुख अध्यापकको रूपमा ल्याइयो भने राजा भरत बम का राइटर कृष्ण प्रसाद शर्मालाई गणित शिक्षकका रूपमा ल्याइयो । वि.स. २००५ सालमा गलकोट राजदरवारको सिफारिसमा स्कूल अफ इन्स्पेक्टर डिभिजन कार्यालय कपिलवस्तुबाट ‘गौमुखी ‘पाठशालाको नाममा स्वीकृती ल्याइयो र हाल गलकोट नमुना माध्यामिक विद्यालय रहेको बोहोराको ठाँटीमा सारियो । तसर्थ यस विद्यालयको आधिकारिक रूपमा स्थापना वर्ष भनेर वि.स. २००५ साललाई मान्न सकिन्छ ।

स्थानीय जनताहरूको सहयोगमा विद्यालयलाई आवश्यक पर्ने भौतिक सामाग्री तथा तलव भत्ताको व्यवस्था गर्दै स्कूलको स्तर वृद्धि गर्ने क्रममा वि.स. २०१७ सालमा ‘गौमुखी मिडिल स्कूल’ मा परिणत गरियो । स्थानीय जनतामा बढ्दै आएको शिक्षा प्रतिको अभिरुचिले गर्दा वि.स. २०२२ सालमा यस विद्यालयलाई ‘गौमुखी हाई स्कूल’ मा परिणत गरियो । तर छिमेकी गाउँ पञ्चायत हरिचौरमा सञ्चालित अरनिको निम्न माध्यामिक विद्यालय र हटिया गाउँ पञ्चायतमा सञ्चालित गौमुखी हाई स्कूल बीच एकीकरण गरी “गलकोट माध्यामिक विद्यालयको नाममा हरिचौर गाउँ पञ्चायत को वार्ड नं. ९ को मजुवा फाँटमा वि.स. २०२६ सालदेखि २०२७ सालसम्म सञ्चालन भयो । पुनः जिल्ला शिक्षा कार्यालय बागलुङको निर्देशन अनुसार गलकोट मा.वि. हटियामा र अरनिको मिडिल स्कूल पृथ्वी नमुना स्कूलको नाममा हरिचौरमा नै सञ्चालन गरियो । यस विद्यालयको स्तर वृद्धि गर्ने क्रममा वि.स. २०५३ सालमा उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन प्राप्त गरी शिक्षा, मानविकी र वाणिज्य सङ्काय सञ्चालन हुने गरी उच्च मा.वि. को रूपमा सञ्चालन गरियो । यस्तै शैक्षिक सत्र २०६८ साल देखि विज्ञान संकाय थप गरिएको हो । यस्तै वि.स. २०६० साल देखि बोल्न र सुन्न नसक्नेहरू का लागि विशेष बहिरा शिक्षा कार्यक्रम अन्तर्गत साङ्केतिक भाषामा पढाई सञ्चालन हुँदै आएको थियो तर विविध कठिनाइहरूका कारण उक्त कार्यक्रम हाललाई स्थगित गरिएको छ । यस्तै २०७० सालदेखि व्यावसायिक तथा प्राविधिक धार अन्तर्गत बाली विज्ञानका कक्षाहरू सञ्चालन भई हाल कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन अध्यापन भइरहेको छ । २०७९ साल देखि प्राविधिक शिक्षालाई लक्षित गरि पढ्दै कमाउँदै कार्यक्रम समेत सञ्चालन गरिएको छ । वि.सं. २०७४ देखि यस गलकोट माध्यमिक विद्यालय नमुना विद्यालय विकास कार्यक्रमको कार्यान्वयनको अवस्थामा रहेको छ । हालसम्म भौतिक निर्माणतर्फ शैक्षिक भवन ४, प्रशासनिक भवन १ र अन्य २ भवन गरी ७ वटा भवन निर्माण भइसकेको छ । शैक्षिक व्यवस्थापनतर्फ प्रारम्भिक बाल कक्षाको लागि कक्षा कोठा, फर्निचर एवम् शैक्षिक तथा खेलकुद सामग्रीको व्यवस्था गरिएको छ । सेवा क्षेत्र भित्रका विद्यार्थीलाई बसको व्यवस्था गरी निःशुल्क आवतजावतको व्यवस्था गरिएको छ । कक्षा १–१२ सम्म नेपाली तथा अङ्ग्रेजी माध्यमका कक्षाहरू सञ्चालन गरिएका छन् ।